काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आफू चुनावी राजनीतिमा होमिनुका पछाडिको कारण सार्वजनिक गर्दै शिक्षा क्षेत्रमा आमूल सुधारका प्रयासहरू असफल भएपछि यो कदम चालेको बताएका हुन् ।

पुनका अनुसार शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने उद्देश्यले आफूले तीन वटा अध्यादेश र चार वटा नियमावली अघि सारे पनि आवश्यक राजनीतिक तथा प्रशासनिक सहयोग नपाउँदा उनी निराश भएका थिए

। ती अध्यादेश राष्ट्रपति र संसद्को विधान समितिबाट स्वीकृत भएको भए आफू यो निर्वाचनमा नलड्ने मनसायमै नभएको उनको भनाइ छ ।

‘शिक्षा क्षेत्रमा सुधार गरेरै देशलाई समृद्ध बनाउने सोच थियो। तर तीन वटा अध्यादेश ल्याउन सहयोग भएन,’ पुनले बुधबार सामाजिक सञ्जालमार्फत लेखेका छन्।

उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय बनाउने प्रस्तावसमेत अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाटै रोकिएको उनको आरोप छ।

‘छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा मुख्य सचिवले अल्झ्याए। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,’ पुनले भनेका छन्।

यसै कारण शिक्षामन्त्री पदबाट राजीनामा दिएर म्याग्दी पुगेको र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको पुनले जानकारी दिए ।