काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगरिए सरकारको औचित्य समाप्त हुने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका हुन्।

फागुन २१ मा निर्वाचन र फागुन २८ गते ६ महिना पूरा हुने गरी मिति तय गरिएको उल्लेख गर्दै उनले तोकिएको समयमै चुनाव गराउनुपर्ने तर्क गरे ।

६ महिनाभन्दा बढी समय चुनाव नगरी रहन संविधानले नमान्ने बताउँदै उनले भने- ‘निर्वाचन सार्नु भनेको संविधान मिच्नु हो तोकेको मितिमा निर्वाचन नगरे यो सरकारको म्याण्डेट सकिन्छ ।’

उनले ६ महिनाभित्र निर्वाचन गराउने सर्तमा राजनीतिक दलहरूको सहमतिबाट सरकार बनेको भन्दै सरकारले चुनाव नगराउने निर्णय गर्न नसक्ने बताए ।

साथै, उनले जेनजी आन्दोलनले ध्वस्त बनाएका निजी क्षेत्रको उद्योग, व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई आग्रह समेत गरेका छन् ।