काठमाडौं - रुपन्देहीमा प्रहरीले छोरालाई जिउँदै खाल्टोमा गाडेको आरोपमा बाउलाई पक्राउ गरेको छ । तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् ।

तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयले आरोप लगाएको प्रहरीको भनाइ छ ।

गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । छोरो बिरामी भएर बेहोस भएपछि बोरामा हालेर खाल्डोमा गाडेको भन्दै स्थानीयले विरोध जनाएर परियारलाई घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले पक्राउ गरेको हो ।

बच्चालाई ज्युँदै गाडेको या मृत्यु भएपछि भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । पक्राउ परेका आरोपित बच्चाका बाउले भने आफूले छोराको मृत्यु भइसकेपछि खाल्डोमा गाडेको बताएका छन् ।