काठमाडौं - गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् ।
कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गठन गरेको महाधिवेशन आयोजक समितिका संयोजक तथा पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मंगलबार गुरुङलाई पार्टीमा प्रवेश गराएका हुन् ।
गुरुङ यसअघि गण्डकी प्रदेशको सांसद तथा मन्त्रीसमेत भइसकेका छन् ।
पार्टी प्रवेशसँगै देउवा समूहले गुरुङलाई मनाङ जिल्लाको १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिको संयोजक समेत तोकेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र संस्थापन र देउवा समूह छुट्टाछुट्टै प्रक्रियामा अघि बढिरहेका बेला मनाङेको प्रवेश भएको हो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा समूहले यही असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन तयारी गर्ने तयारी गरेको छ ।
यता देउवा समूहले भने आगामी मंसिरमा छुट्टै १५औँ महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाएको छ।
मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ।
यसअघि मनाङेले साउनमा देउवासँग भेट गरेका थिए भने देउवा समूहका गतिविधिमा पनि देखिएका थिए।
मंगलबार भने उनी औपचारिक रूपमा उक्त समूहमा जोडिएका हुन्।



