काठमाडौं - मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै छ । साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिसक्नुपर्नेछ ।

ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।

दाबी प्रस्तुत गर्नुअघि एमालेबाहेकको सात दलीय गठबन्धन छलफलमा जुटेको छ । सात दलीय गठबन्धनका नेता आन्तरिक छलफलमा जुटेका छन् । आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने तयारी सात दलको छ ।

मधेस प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न बिहीबार सात दलको बैठक बसेको थियो । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

सात दलले सभामुख, मुख्यमन्त्री, विभिन्न आयोगका सदस्य, मन्त्रीलगायतका विषयमा प्याकेजमै सहमति खोज्ने भएका छन् ।