प्रहरीले बरामद गरेको सर्जिकल मास्क सर्वसाधारणलाई बिक्री गरिने
काठमाडौं - लुकाएर राखिएका ठाउँबाट प्रहरीले बरामद गरेको सर्जिकल मास्क बिक्री गरिने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बिहान कपन र सतुंगल क्षेत्रबाट कोरोना भाइरसको जोखिम बढेसँगै बढ्दो मास्कको मागमा कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको करिब साढे ८ लाख थान सर्जिकल मास्क बरामद गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार महान्यायाधीवक्ताको कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर बरामद भएका मास्क सर्वसाधारणलाई बिक्री गरिने तयारी गरिएको छ ।
करिब ३ रुपैयाँ २५ पैसा पर्ने मास्क व्यवसायीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको विशेष सुचनाका आधारमा प्रहरीले पसलहरूमा छापा मारेको थियो । प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस