काठमाडौं - कोरोनाभाइरसको संक्रमण अझै नघटेको भन्दै काठमाडौंमा निषेधाज्ञाको समयावधि थप्ने तयारी भइरहेको छ । महामारी रोकथामका लागि अझै निषेधाज्ञा आवश्यक भएको भन्दै जारी निषेधाज्ञा जेठ १३ गतेबाट एकसाता थप्ने तयारी भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको हो ।

मंगलबार बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।

सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भएकाले निषेधाज्ञालाई कडाइका साथ थप्ने पराजुलीको भनाई छ ।