काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।

मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टीले यी दुई प्रकारका कदम चाल्ने घोषणा गरेका हुन्।

ओलीले भदौ २३ र २४ को आन्दोलन देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दुका रूपका रहेको बताए ।

अहिलेको असंवैधानिक सरकार हट्नुपर्ने बताउदै ओलीले भने- ‘एउटा कानुनी लडाई लड्छौ, दोस्रो सडक सङ्घर्ष गर्छौ। एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुनेछ । देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दु बनाइएको छ । यो हाम्रा लागि सैह, स्वीकार्य र मान्य हुनेछैन ।’

आफू नेतृत्वको सरकार हुँदा अहिले जस्तो खुलेआम भ्रष्टाचारको काण्डहरू नभएको बताएका छन् ।

उनले भने- ‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँ निरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका, विद्युत् बिक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त ? अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन ।’

उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत् खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्तिसमेत जनाए ।