रुपन्देही - रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/0८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । ‘समानता, स्वाभिमान र अवसर : बस्न योग्य बुटवल शहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्च रहने अनुमान गरिएको छ।
बजेटमा सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट समानीकरण अनुदान २९ करोड २२ लाख रुपैयाँ, सशर्त अनुदान (चालु) ५० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) ७ करोड ४ लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ तथा समपूरक अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३ लाख ६५ हजार रुपैयाँ, सशर्त अनुदान (चालु) ५६ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) १ करोड ७३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ तथा विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्व बाँडफाँडअन्तर्गत सङ्घीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
उपमहानगरले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस्तै, स्थानीय राजस्व बाँडफाँडअन्तर्गत विज्ञापन, मनोरञ्जन कर तथा प्राकृतिक स्रोत बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

.gif)


