काठमाडौं-नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने विषयमा अझै आशंका रहेको जनाएको छ ।

शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराईले निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गर्न आयोगले कस्तो तयारी गरेको छ भन्ने प्रश्न उठाएका हुन् ।

उनले उम्मेदवारहरू ढुक्कका साथ जनतामाझ जान पाउने वातावरण अझै सुनिश्चित भई नसकेको एमालेको धारणा रहेको बताए ।

सचिव भट्टराईले भने- ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मोनिटरिङ सिस्टम के हो ? प्रभावकारी अनुगमन नहुँदा आचारसंहिता कार्यान्वयनमा कमजोरी देखिएको छ । यसले निर्वाचन सहज हुन सकेको छैन ।’

कुनै पनि प्रलोभन वा दबाबबिना निष्पक्ष निर्वाचन हुनसक्ने विश्वास दिलाउने जिम्मेवारी निर्वाचन आयोगकै काँधमा रहेको उनले उल्लेख गरे ।