काठमाडौं - इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम बहादुर शाहीमाथि विभागीय कारबाही गर्न सिफारिस भएको छ ।

नेपाली कांग्रेस निकट तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको भन्दै शाहीविरुद्ध विभागीय कारबाही गर्न सिफारिस गरिएको हो ।

डिएसपी शाहीले खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि एसएसपी नर बहादुर केसीको संयोजकत्वमा एक छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिले तयार गरेको प्रतिवेदन प्रदेश नं ५ का प्रहरी प्रमुख डिआईजी सुरेश विक्रम शाहसामु बुझाइएको छ ।

प्रतिवेदनमा प्रहरीको आचारसंहिता विपरीत डिएसपी शाहीले खसी मागेको भन्दै उनीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । शाहीसँगै अई सुरेन्द्र कुमार पन्थलाई समेत विभागीय कारबाही गर्न भनिएको छ ।

सई पन्थले तरुण दल बाँकेका कोषाध्यक्ष खड्कालाई फोन गरेको र पछि डिएसपी शाहीलाई फोन दिएको प्रतिवेदनमा उल्लेख छ । फोनमा एसपी शाहीले आफू माताहातका प्रहरी अधिकृत र जवानलाई पार्टी दिन भन्दै खसी मागेका थिए ।

प्रहरी नियमावलीमा विभागीय कारबाही अन्तर्गत नसिहत दिने, ग्रेड वा बढुवा रोक्का हुने वा एक तह घटुवा गर्ने व्यवस्था छ । तरुण दल बाँकेका अध्यक्ष सन्दिप जंग शाह पक्राउ परेको १ महिनापछि शाहीले खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएको थियो ।

प्रहरीले शाहलाई अमेरिकी पेस्तोल र गोली सहित कात्तिक १४ गते पक्राउ गरेको थियो । प्रतिवेदनमा कानुन अनुसार नै शाहलाई पक्राउ गरिएको समेत उल्लेख छ । त्यस्तै लोकेन्द्र शाहीलाई खुकुरी प्रहार गरी फरार भएका तरुण दल बाँकेका कोषाध्यक्ष खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।