काठमाडौं,एजेन्सी - लागुऔषध मुद्दामा जमानतमा रिहा भएकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकीविरद्ध सिबिआइमा उजुरी दर्ता गरेकी छन् ।

छिमेकी डिम्पल थवानीले सिबिआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिस गरेको आरोप लगाउँदै उनले उजुरी गरेकी हुन् । 

अभिनेत्री रियाले सिविआइको नाममा लेखेको पत्रमा छिमेकी डिम्पलले सञ्चार माध्यममा अभिनेता सुशान्तसिंह राजपुत आफ्नो बारेमा झुटो बयान दिएको जनाएकी छन् ।

डिम्पलले सञ्चार माध्यमसँग कुरा गर्दै १३ जुनमा सुशान्त र रियाको भेट भएको बयान दिएकी थिइन् । तर, सिविआइको छानविनका क्रममा रिया र सुशान्तबीच उक्त दिन भेट भएको खबर झुटो निस्किएको थियो । अभिनेता सुशान्तले १४ जुनमा आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए ।

डिम्पलको बयानपछि केही सञ्चार माध्यमले रियामाथि मिडिया ट्रायल नै गरेका थिए । सिविआइले छानविनका क्रममा डिम्पलको बयान झुटो निस्किएपछि उनलाई सम्झाएर छाडिदिएको थियो ।

तर, अब भने अभिनेत्री रियाले डिम्पलमाथि कारवाहीको माग गर्दै उजुरी दिएकी छन् ।  सञ्चार माध्यमसँग डिम्पलले कुराकानी गर्दै १३ जुनको बेलुकी साढे ६ बजे सुशान्त रियालाई छाड्न उनको अपार्टमेन्टसम्म आएको जिकिर गरेकी थिइन् । यो झुटो खबर फैलाउने सञ्चार माध्यममाथि पनि कारवाहीको तयारी गरिएको छ ।