काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हालको जेन–जी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडका घटनाको जिम्मेवारी परम्परागत ठूला दलहरू — नेपाली कांग्रेस र नेकपा (एमाले) — माथि लगाएका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिंदै मेयर शाहले आन्दोलनका नाममा कांग्रेस र एमालेले एक–अर्काको सम्पत्ति जलाएर दोष अरूलाई लगाउने प्रवृत्तिलाई “राजनीतिक ढोंग” भनेका छन्।

उनले लेखेका छन्, “आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाईदिन्छौं।”

शाहले सन्देशमा राजनीतिक नेतृत्वको नैतिकता र जिम्मेवारीप्रति प्रश्न उठाएका छन्। उनले व्यङ्ग्य गर्दै लेखेका छन्,

“तुइन र काठको पूल बनाउने नेताहरू भन्छन् – यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरूलाईएजेन्ट भन्छौ !”

उनले देशभक्तिको आवरणमा स्वार्थी राजनीतिक चरित्र देखाउने नेताहरूलाई लक्षित गर्दै थपे, “चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ! लाज लाग्दैन ?”