काठमाडौं - चीनले अनुदान दिएको ८ लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदैछ । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट कोरोना खोप लिएर सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । उक्त जहाज आइतबार साँझ बेइजिङ उडेको थियो  । 

निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ । निगमले कोभिडविरुद्धको खोप लिन पहिलोपटक उडान गर्न लागेको हो ।  

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।