काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै जिल्ला अदालत काठमाडौंले प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद दिँदै यस्तो आदेश जारी गरेको हो।

अदालतको आदेशमा ‘प्रतिवादी अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको देखिँदा आवश्यक प्रभावकारी उपचारको व्यवस्था गर्न’ भनिएको छ।

प्रहरीले शनिबार बिहानै केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो।

अदालतमा म्याद थपका क्रममा लेखकलाई उपस्थित गराइए पनि ओलीलाई भने अस्पतालबाटै भिडिओ कलमार्फत उपस्थित गराइएको थियो। भिडिओ कलमार्फत केहीबेर इजलासमा बसेपछि ओली बाहिरिएका थिए भने लेखक भने बहस अवधिभर इजलासमै रहेका थिए।

प्रहरीले प्रतिवादीहरूको बयान, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ, घटना विवरण संकलन तथा जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन–विश्लेषणका लागि म्याद मागेको जनाएको छ।

उक्त आन्दोलन दमन गर्न प्रहरी परिचालनको आदेश दिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाउन गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले मुद्दा चलाउने निर्णय गर्दै तत्काल ओली र लेखकलाई पक्राउ गरेको हो।