एमाले महाधिवेशन प्रतिनिधि मनोनयन: पोखरेल समूहको आपत्ति
काठमाडौं - नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले विधानको वैधानिक व्यवस्थाअनुसार ५ प्रतिशत मनोनयन गर्न पाउने कोटा अन्तर्गत यी प्रतिनिधिहरू चयन गरेको थियो।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको आरोप छ कि सचिवालय बैठकमा मनोनित गरिने प्रतिनिधिहरूलाई ६०/४० को अनुपातमा टुङ्गो लगाउने सहमति भएको थियो। तर, उक्त सहमति विपरीत ओली समूहले एकलौटी रूपमा सूची सार्वजनिक गरेपछि विवाद चर्किएको हो।
पोखरेल समूहका पत्रकार राजेश राईले सामाजिक सञ्जाल फेसबुकमा असहमति सार्वजनिक गर्दै लेखेका छन्- ‘हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो। सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो। तर उक्त सहमति विपरीत एकपक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको छ।’
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या भने निश्चित भइसकेको छ। एमाले संगठन विभागका सचिव एवं प्रतिनिधि व्यवस्थापन समितिका अनुसार, मनोनयनबाहेक २ हजार १५४ जना प्रतिनिधिहरू पूर्व निर्धारित मापदण्डबमोजिम चयन भइसकेका छन्।
मनोनयन गरिएका १०८ जना प्रतिनिधिसहित कूल २ हजार २६२ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्।
यसबाहेक, ३०९ जना केन्द्रीय सल्लाहकारहरूले समेत महाधिवेशनमा पर्यवेक्षकको रूपमा सहभागिता जनाउनेछन्। यसरी, एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कुल २ हजार ५७१ जना सहभागी हुने भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस