काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सूर्यदेव र छठी माताको आराधनाले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । 

उनले भनेका छन्, 'भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्व मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइन्छ।' छठ पर्वले जीवनको एक गहिरो दर्शन सिकाउने चर्चा गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिने बताएका छन्।

चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिई विधिपूर्वक पूजाआजा गरिन्छ।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले छठ पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, एकता र सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरे। साथै, उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सम्पूर्ण देशवासीमाथि सदैव बनिरहोस् भनी मंगलकामना गरेका छन् । 

साथै, मैथिलीहरूलाई लक्षित गर्दै उनले ‘छैठके बहुत रास शुभकामना दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’ भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।