काठमाडौं - विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २४ हजार ६११ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ ।

एल साल्भाडोरमा कोरोना सङ्क्रमणको पहिलो घटना

त्यस्तै, एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन्र।

कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताएका छन् ।

सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताएका छन् ।

निकारागुआमा कोरोना भाइरसको पहिलो सङ्क्रमण

मध्यअमेरिकी अमेरिकी मुलुक निकारागुआले बुधबार कोभिड–१९ को सङ्क्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् ।

निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकी जस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको मुरिलोले बताएका छन् । हाल बिरामीको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वभरी ८ हजार ९७० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसैगरी विश्वभरी बिहीबारसम्म २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् ।