धनुषा - मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएकी एक महिलाले धनुषा जिल्ला अदालतको मुख्य गेटमै प्रहरीकै अगाडि आत्मदाहको प्रयास गरेकी छन्।
जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।
मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालत परिसरमा प्रदर्शनमा उत्रिएका थिए। सोही क्रममा रजकले साहद्वयलाई कारबाही गर्नुपर्ने माग राख्दै अदालतको मुख्य गेटअगाडि आत्मदाहको प्रयास गरेकी हुन्।
रजकले शरीरमा पेट्रोल खन्याइसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएको थियो। समयमै उद्धार गरिएपछि सम्भावित गम्भीर घटना टरेको प्रहरीले जनाएको छ।
घटनापछि धनुषा जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

.gif)


