काठमाडौं - सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न थालेको छ ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको बैठकमा ग्यासको आपूर्तिदेखि वितरण र ढुवानीसम्मको विवरण अनलाइनमार्फत निगरानी गर्न ट्र्याकिङ प्रणाली निर्माणको काम अघि बढाइएको जानकारी गराएकी हुन् ।

उनका अनुसार हाल ग्याससम्बन्धी विवरण सार्वजनिक गर्न गुगल फारम प्रयोग हुँदै आएको छ । ग्यासको उपलब्धता र वितरणसम्बन्धी जानकारीलाई व्यवस्थित तथा पारदर्शी बनाउन नयाँ अनलाइन प्रणाली विकास गर्न लागिएको हो ।

प्रस्तावित प्रणालीमार्फत उपभोक्ताले ग्यासको वास्तविक आपूर्ति अवस्था र वितरणसम्बन्धी जानकारी प्राप्त गर्न सक्ने सरकारको अपेक्षा छ । यसबाट ग्यासको ढुवानी तथा वितरणमा हुने अनियमितता र कृत्रिम अभाव नियन्त्रण गर्न सहयोग पुग्ने जनाइएको छ ।

यसैगरी नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने अबको एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन् । 

उनका अनुसार साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिइसकेका छन् मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन् ।

ग्यासको आयात पर्याप्त रहेकाले अहिले देखिएको आपूर्ति समस्या छिट्टै समाधान हुने उनको दाबी छ ।