रौतहट - रौतहटको इशनाथ नगरपालिका–४ मठियामा चार वर्षीया बालिकालाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फरार चालकको खोजतलास गर्दै जाँदा परोहा नगरपालिका–३ तेजापाकड घर भएका २७ वर्षीय शेख मुस्ताकलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने इशनाथ नगरपालिका–४ मठिया गाउँस्थित मस्जिद नजिक आज दिउँसो करिब २ः३० बजे बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई स्थानीयको दबाबपछि चालकले गौरको घण्टाघरस्थित सडक नजिक रहेको सिटी अस्पतालमा पुर्‍याएर राखेको तर त्यसपछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टी रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले घरदैलो कार्यक्रममा प्रयोग गर्दै आएको गाडी भएको खुलेको डीएसपी वस्यालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाको समयमा उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त थिए भने गाडीमा चालक एक्लै रहेको थियो । मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।