काठमाडौं - संसद् पुर्नस्थापना भएपछि सत्ता समिकरणको लागि नेपाली कांग्रेसको भूमिका निर्णायक बन्ने अवस्थामा छ । नेकपामा ‘विभाजन’ आएको अवस्थामा सत्ताको लागि कांग्रेसलाई नेकपाको प्रचण्ड–नेपाल तथा ओली समूहले सहकार्यको प्रस्ताव गरेको छ ।

सहकार्यको लागि बुधबार प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उता प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओली र देउवाबीच निकटता रहेको पछिल्लो राजनीतिक घटनाक्रमले बताइरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । यसअघि सभापति देउवाले आफू निकटका नेताहरूसँग छलफल गरेका छन्। बिहीबार बिहान देउवाले बुढानिलकण्ठस्थित निवासमा आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसलाई नेकपाको दुबै समूहले समिकरणको लागि प्रस्ताव गरेको बताएका छन् । यसबारे उनले भने, ‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन् ।’

कांग्रेस पदाधिकारी बैठक अपरान्ह ३ बजे बस्दैछ । बैठकमा अब कांग्रेस कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ।