झापा - झापाको दमकमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्वाचनको समयमा जारी गरिएको आचारसंहिता उल्लंघन गर्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला र हिँडडुल गर्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो।

मंगलबार प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले दमक नगरपालिकाका विभिन्न क्षेत्रमा गस्ती गरेको थियो। सोही क्रममा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा दमक–५ का २२ वर्षीय अनिस रसाईली, १९ वर्षीय विवेक खड्का र २९ वर्षीय जोन विश्वकर्मा, कमल गाउँपालिका–५ का ५३ वर्षीय अशोक मुखिया, ३९ वर्षीय हर्क राई, ६६ वर्षीय डम्बर राई, गौरादह–२ का ४५ वर्षीय उद्धवराज ताजपुरिया, इलाम चुलाचुली–४ की ३७ वर्षीया छवि लिम्बू (सानी), दमक–४ की ४० वर्षीया सावित्रा लिम्बू र दमक–६ का ३७ वर्षीय अख्तर खान रहेका छन्।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन प्रहरीले निगरानी बढाएको र आचारसंहिता विपरीत काम गर्ने जोसुकैलाई कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका बरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा उत्रिएको भएकाले कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

यस्तै निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा देशभरिबाट १४२ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबि नारायण काफ्लेका अनुसार पक्राउ परेका मध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटिसकेका छन् ।