अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आयो : बालेन शाह
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताएका छन् ।
भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् सन्देश सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले सुरक्षित राष्ट्र निर्माणका लागि दीर्घकालीन दृष्टि, इमानदार नेतृत्व र जिम्मेवार नीतिको अपरिहार्यतामा जोड दिए ।
२०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको अनुभव स्मरण गर्दै शाहले काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरिएको उल्लेख गरेका छन्। त्यसपछि गोरखा हुँदै ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएको बताउँदै उनले भूकम्पजस्तो विपद् पुनः नआओस् भन्ने कामना व्यक्त गरेका छन्।
नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको देशमा केवल सिभिल इन्जिनियरिङको कोणबाट मात्र विकास सम्भव नहुने अनुभवले आफूलाई महत्वपूर्ण पाठ सिकाएको शाहको भनाइ छ। ‘भौगोलिक बनोटसँगै विविध समाजलाई अघि बढाउन सबै पाटोलाई समन्वय गर्दै काम गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘राष्ट्रको विकास भनेको भूगोल र जनताको समानान्तर विकास हो, र तिनलाई जोड्ने सेतु बलियो बनाउनु हो।’
सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिकता र आधुनिकताको सन्तुलनसहितको नीति तथा इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै शाहले यही बुझाइका साथ भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको बताए। अध्ययनपछि सुविधा सम्पन्न देशमा काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्कने निर्णय गरेको उनले स्मरण गराए।
नागरिकको विश्वासका कारण काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा कामलाई प्राथमिकता दिँदै स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर जनताको प्रत्यक्ष अनुभूति हुने सेवा दिन सकिन्छ भन्ने प्रमाणित गरिएको शाहको दाबी छ।
पारदर्शी प्रणाली, सेवा प्रवाहमा सुधार र संरचनागत परिवर्तनको सुरुवात महानगरबाट भएको र अब ती अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनले उल्लेख गरे।
शाहका अनुसार विकास भनेको सडक, भवन वा ठूला संरचना मात्रै होइन। ‘विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो,’ उनले भनेका छन्। कागजमा सीमित विकास होइन, हरेक नागरिकले अनुभूत गर्न पाउने संस्थागत विकास र समुन्नतिका लागि कटिबद्ध इमानदार प्रयास आवश्यक रहेको उनको भनाइ छ।
स्ट्रक्चरल इन्जिनियरका रूपमा आफ्नो अनुभव प्रस्तुत गर्दै शाहले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको स्पष्ट पारेका छन्। ‘अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ,’ उनले भनेका छन्। संकट आउनुअघि तयारी गर्ने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन प्रणाली निर्माण नै आफ्नो राजनीतिक उद्देश्य रहेको उनले दोहोर्याए।
उनले यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा प्रयास भएको उल्लेख गर्दै सबैको साथ, सहयोग र विश्वाससहित राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको आह्वान गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस