कसको कारण हुन्छ बस दुर्घटना ?
काठमाडौं - केही दिनअघि मात्र सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने १८ जना घाइते भए । सिन्धुपाल्चोकमा महिना दिनभित्र भएको यो दोस्रो ठूलो दुर्घटना थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जना नागरिकले ज्यान गुमाउनुपरेको थियो भने चार दर्जन घाइते भएका थिए ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा ठूला दुर्घटना भएका छन् । १७ मंसिरमा बागलुङमा भएको जिप दुर्घटनामा १० र ११ मंसिरमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । म्याग्दीको मालिका गाउँपालिका–७ मा भएको बस दुर्घटनामा चार जना विद्यार्थीको मृत्यु भएको थियो । सानातिना दुर्घटना दिनदिनै थपिएका थपियै छन् ।
ट्राफिक प्रहरीका अनुसार गत वर्ष सडक दुर्घटनामा २ हजार ७ सय ८९ को निधन भएको थियो भने गत साउनदेखि हालसम्म ९ सय २१ जनाको निधन भएको छ ।
पछिल्लो सिन्धुपाल्चोकको सडक दुर्घटनापछि भने प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चासो देखाएका छन् । उनले सम्बन्धित निकायलाई बोलाएर छलफल गरे भने दुर्घटना रोक्नेबारे कदम चाल्न निर्देशनसमेत दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा समितिसमेत गठन गरेको छ ।
अहिले दुर्घटना हुनुको कारणबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सरोकारवाला निकायहरू भने एकले अर्कालाई दोष दिएर पन्छिने दाउमा देखिएका छन् ।
दुर्घटना न्यूनीकरणबारे बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा सडक विभागका महानिर्देशक केशव शर्माले मानवीय कारण नै दुर्घटनाको मुख्य कारण रहेको बताए । उनले सिधै नअथ्र्याए पनि चालकको लापर्बाही र व्यवसायीको कारण दुर्घटना हुने गरेकोमा जोड दिए । उनले स्थानीय तहले सडक निर्माण गर्ने गरेको तर त्यो सडक सवारी चलाउन उचित भए नभएकोबारे सेफ्टी रोड अडिट नहुने हुँदा त्यसले पनि दुर्घटना निम्त्याउने गरेको बताए ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौंलाले भने सडककै कारण दुर्घटना हुने गरेको दाबी गरे । उनले साँघुरो बाटो, लामो समय पिच नगर्ने तथा विभिन्न ठाउँमा रेलिङ नहाल्दा बढी दुर्घटना निम्तिएको बताए । सार्वजनिक रूपमा नै उनले काठमाडौं कोरिडोरको निर्माण कार्य सुस्त भएको भन्दै ढिलाइप्रति प्रश्न उठाए ।
ट्राफिक प्रहरीका उपत्यका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र के कस्तो सडक छ भनेर चासो राख्नुपर्ने तर्क गरे । ‘सडक दुर्घटना कम गर्न आमनागरिकले पनि सहयोग गरिदिनुप¥यो, स्थानीय सरकारले पनि आफ्नो वडा तथा नगरपालिका र गाउँपालिका भित्रको सडक कस्तो छ भनेर ख्याल गरिदिन प¥यो,’ उनले भने ।
कसको कारण हुन्छ दुर्घटना ?
ग्रामीण सडक इन्जनियरिङ बिना जथाभावी बनाइएको छ । गाडी गुड्न उपयुक्त छैनन् तर ट्र्याक खोल्ने होडबाजी रोकिएको छैन । देशमा ८३ किलोमिटर हजारभन्दा बढी सडकमा मात्रै १४ हजार किमि मात्रै पिच भएको छ । मुख्य गरेर सडक बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीभार क्षमता र गाडीको गतिको कारण बढी मात्रामा दुर्घटना हुने गरेको पाइन्छ । यसमा मुख्य दोषी सरकार देखिन्छ, मुख्यतयः भौतिक संरचनाको उचित मर्मतसम्भार नहुँदा सडक दुर्घटना हुने गरेको हो ।
दोस्रोमा चालकको कारण दुर्घटना हुने गरेको पाइन्छ । लापर्बाही गरेर तीव्र गतिमा सवारी हाँक्दा गाडी दुर्घटना हुने गरेको छ । चालकको स्वास्थ्य अवस्थाका कारण पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछ । ‘हरेक ४÷४ घण्टामा चालकले आराम गर्नुपर्छ’ एसएसपी ढकाल भन्छन् । थोत्रा सवारी र क्षमताभन्दा बढी यात्रु राखेर चलाउनुले पनि सडक दुर्घटना बढेको विभिन्न अध्ययन प्रतिवेदनले औंल्याएका छन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस