काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किँदै छन् । 

यसअघि शुक्रबार प्रधानमन्त्री दाहालले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका थिए । 

नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर विशेष विमानमार्फत शुक्रबार इन्दौर गएका प्रधानमन्त्री दाहालले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरेका थिए । 

प्रधानमन्त्री दाहाल दिउँसो इन्दौरबाट दिल्ली फर्किने र अपराह्न दिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबी गरेका छन् । यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको उनको भनाइ छ ।