काठमाडौं - फिफा विश्वकप–२०२६ को पहिलो सेमिफाइनलमा आज राति पौने १ बजे युरोपेली च्याम्पियन स्पेन र गत उपविजेता फ्रान्स आमनेसामने हुँदैछन्।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दुई टोलीबीचको भिडन्तलाई फुटबल जगतले ‘फाइनलअघिको फाइनल’का रूपमा हेरिएको छ। फ्रान्सले प्रतियोगितामा १६ गोल गर्दै दुई गोल मात्र बेहोरेको छ भने स्पेनले क्वाटरफाइनलअघि लगातार छ खेल क्लिनसिट राख्दै सशक्त रक्षापङ्क्तिको प्रदर्शन गरेको थियो।
फ्रान्सका कप्तान किलियन एम्बाप्पे आठ गोल र तीन असिस्टसहित गोल्डेन बुटका प्रमुख दाबेदार छन्। यता स्पेनका युवा स्टार लामिने यमाल, मिडफिल्डर रोड्री, पेड्री र फाबियन रुइज टोलीका मुख्य आधार हुन्।
पछिल्ला दुई प्रतिस्पर्धामा स्पेनले फ्रान्सलाई पराजित गरेको इतिहास रहे पनि लगातार तेस्रो विश्वकप फाइनल पुग्ने लक्ष्यसहित फ्रान्स मैदान उत्रनेछ। दुवै टोलीका खेलाडी व्यक्तिगत पुरस्कारको दौडमा समेत रहेकाले सेमिफाइनल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

.gif)



