एमालेद्वारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन, सरकारमाथि संसद् कमजोर बनाएको आरोप
काठमाडौं - नेकपा एमाले संसदीय दलले आफ्नो साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ ।
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आगामी बजेट अधिवेशनलाई लक्षित गर्दै संसदीय गतिविधिलाई प्रभावकारी बनाउन बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
एमालेका प्रमुख सचेतक ऐन महर का अनुसार बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक तथा राष्ट्रिय सभाका सचेतकसहित ६ पदाधिकारी रहनेछन् ।
त्यसैगरी प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र संयुक्त समितिका २ गरी विभिन्न संसदीय समितिमा एमालेको तर्फबाट नेतृत्व गर्ने संयोजकहरूलाई समेत बोर्डमा समेटिएको छ ।
बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै संसद्लाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएको छ ।
प्रमुख सचेतक महरले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको प्रयास अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस