काठमाडौं - कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण अलपत्रमा परेर कतारबाट पहिलो चरणमा स्वदेश फर्किन चाहने नेपालीको सूची सार्वजनिक भएको छ ।

कतारको दोहास्थित नेपाली राजदूतावासले नेपाल फर्किने ५ हजार १ सय १२ जनाको सूची सार्वजनिक गरेको हो।

आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती, कोरोना संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको छ ।

दुतावासका अनुसार जुन १६ र २० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ तारिखमा हिमालय एयरलाइन्सका २ उडानबाट नेपाली स्वदेश फर्किनेछन्।

कतारबाट नेपाल आउन हवाई टिकटको मूल्य ४९० अमेरिकी डलर तोकिएको छ।