दशैंका लागि आजदेखि नयाँ नोट साटिने
काठमाडौं - दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।
राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् ।
बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।
राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ ।
कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।
हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।
केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा बिहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए । तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस