फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ : दुर्गा प्रसाईं
काठमाडौं - नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए देशभर जनविद्रोह भड्किने चेतावनी दिएका छन् ।
सोमबार सिंहदरबारमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी फर्किँदै उनले यस्तो चेतावनी सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा आफूहरूले राखेका सबै माग स्पष्ट रूपमा प्रस्तुत गरिएको बताउँदै प्रसाईंले ती मागहरू नागरिककोजनजीविकासँग प्रत्यक्ष सम्बन्धित रहेको बताए।
उनले प्रधानमन्त्री कार्कीले मागहरू अध्ययन गरी पुष २ गतेसम्म स्पष्ट निर्णय दिने आश्वासन दिएको जानकारी पनि दिए।
‘प्रधानमन्त्रीज्यूले सबै कुरा अध्ययन गरेर छलफल गर्छु, अनि पुष २ गते निर्णय दिन्छु भन्नुभएको छ। हामीले भनेको जस्तै निर्णय आउने विश्वास छ,’ प्रसाईंले पत्रकारहरूसँग भने।
प्रसाईंले २०६२–०६३ को जनआन्दोलनको म्यान्डेटमा संघीयता र धर्मनिरपेक्षता थिएन भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग दोहोर्याए। साथै सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा चुनाव तोकिएको समयमा नहुने दाबी पनि उनले गरे।
‘२०६२–०६३ को जनआन्दोलनले राजसंस्था फ्याँक्न न भनेको हो, संघीयता–धर्मनिरपेक्षता लगाउन न भनेको हो। जहाँ गाँठो परेको छ, त्यहीँ फुकाउनुपर्छ। चंगाको धागो जहाँ चुँडिएको छ, त्यहीँ गाँस्नुपर्छ। चुनाव हुँदैन, आशै नगर्नु,’ प्रसाईंले चेतावनी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस