काठमाडौं - सत्तारूढ दल नेकपा एमालेले पार्टीको संगठनात्मक संरचनामा ठूला परिवर्तनको तयारी थालेको छ । आगामी भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनलाई लक्षित गर्दै पार्टीले पदाधिकारी संख्या कटौती गर्ने र वरिष्ठ उपाध्यक्षको पद नै हटाउने प्रस्ताव अघि बढाएको हो ।

बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको खाका पेश गरेका छन् । संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी संरचना बनाउने उल्लेख छ।

नयाँ प्रस्ताव अनुसार, अब एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र पाँच सचिव मात्र रहनेछन्।

पछिल्लो पटक, एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १९ सदस्यीय पदाधिकारी टिम चयन गरिएको थियो ।