काठमाडौं - असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलान्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ ।

आज बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ ।रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको थियो ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने–‘सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।’

बाढी पहिरोले राजमार्गको १९ स्थानमा क्षति पुर्‍याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढी पहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्ने गरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए ।

घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ । अब २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी छ । बीपी राजमार्गको काभ्रे खण्डमा १४ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन निर्माण सम्पन्न भइसकेको छ ।

योगेश अनुसार रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी र पिप्लेका चार स्थानमा डाइभर्सन बनिसकेको छ । अब माम्तीका दुई स्थानमा डाइभर्सन बनाउने काम भइरहेको छ ।

काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको थियो ।

राजमार्गमा दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको थियो भने रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको थियो । त्यस्तै बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थानमा डाइभर्सन बगाएको थियो ।