काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने गरी कानून ल्याउने प्रयास भइरहेको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धि कानून ल्याउन लागेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहेको बताउँदै मन्त्री पुनले भने- ‘कानून कसरी आउँछ ? हेर्दैछौँ । तर विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास हुँदैछ । अध्यादेशबाट हुन्छ कि के छ कानूनविदहरुसँग सरसल्लाह हुँदैछ । हाम्रो पालामा यो हटाउने भनेर एकदम न्वारनदेखिको बल लगाएर यसलाई हटाउने भन्ने भएको छ । अब न्वारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन । यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भईरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ ।’

उनले सो सम्बन्धमा कसरी कानूनी व्यवस्था गर्ने भन्नेबारेमा कानूनविद्हरुसँग छलफल भइरहेको समेत जानकारी दिए ।

आजै प्रधानमन्त्री सुशीला कार्कीले त्रिविको सभामा विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताउँदै एउटै प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताएकी थिईन् ।