काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउने बताएका छन्।  शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले इमान्दार प्रयासलाई संगठित र योजनावद्ध ढंगले अगाडि बढाउन सके बहुमत प्राप्त गर्न सक्ने दाबी गरेका हुन्।

अध्यक्ष ओली काम गर्न दुई तिहाई बहुमत आवश्यक भए पनि दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहेकोले बहुमत मात्र ल्याउन सक्ने बताएका हुन्। ‘‘तत्काल दुई तिहाइको सम्भावना छ भन्ने मलाई लाग्दैन’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना छैन ।’

केन्द्रमा र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्ने भन्दै स्थानीय तहमा भएको क्षतिलाई केन्द्र र प्रदेश निर्वाचनबाट भरपूर गर्नुपर्ने ओलीको भनाई छ। ‘केन्द्रमा हामीले एकल बहुमतको सरकार गठन गर्नुपर्यो,वामपन्थी सरकारमा पुगे भने गैरवामपन्थीहरु वामपन्थी सरकार ढाल्ने अभ्यासमा लाग्छन्’, ओलीको भनाइ छ।

ओलीले अहिलेकै जसरी शासन सत्ता चल्ने हो भने अबको ५ वर्षभित्र लोकतन्त्र नरहने बताए। वर्तमान सरकारका कामकारवाही लोकतन्त्रविरोधी रहेको टिप्पणी गर्दै अझै ५ वर्ष यसरी नै चल्ने हो भने नेपालमा लोकतन्त्र नरहने बताएका हुन्।

उनले एमाले जित्छ जित्दैन भन्ने प्रश्न मुख्य नभएको भन्दै देश जित्छ कि जित्दैन भन्ने प्रमुख रहेको बताए। उनले अबको जमानामा लोकतन्त्र रहेन भने हाम्रो जस्तो देशमा भूराजनीतिको खतरा पैदा हुने बताए।  उनले गठबन्धन सरकार बनेपछि नेपाललाई विषय बनाएर विभिन्न शक्ति राष्ट्रका वक्तव्य आइरहेको पनि उनको भनाइ।