जब सीडीओ नै टिकट जाँच गर्न भन्दै बसभित्र पसे…
काठमाडौं - यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरूको टिकट जाँच आफैँ गरेको छ ।
गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो ।
सदरमुकामभन्दा पैदल तीन घन्टा टाढाको दूरीमा रहेको कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेको पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् ।
गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको, स्थानीय पसलमा म्याद गुर्जेको सामग्री बिक्री–वितरण गरेको पाइएपछि उक्त सामग्री नियन्त्रणमा लिएको उनले बताए । सदरमुकामभन्दा बाहिर भएका कारण सबैले ज्यादति गरिरहेको गुनासो बढिरहेको बेला जिल्लाका प्रशासक गाउँमै गएर अनुगमन गर्दा यात्रुहरूले राहतको अनुभव गरेको बताएका छन् ।
यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएका यात्रुहरूका गाउँमै गएर बसभित्र टिकट जाँच गरिएको प्रहरीले बताएको छ । सदरमुकाममा सबै जिल्लाका प्रमुख हुने भएकाले कम समस्या देखिए पनि गाउँमा ठूलो समस्या भएको स्थानीयवासी बताउँछन् ।
कसैलाई जानकारी नदिई बसभित्र गएर अनुगमन थालेका प्रजिअ पन्त गाडीभित्र गएपछि सबै यात्रुहरू मुखामुखसमेत भएका थिए । बढी भाडा लिएका यातायात व्यवसायीलाई बदमासी नगर्न सचेत गराइएको छ । जिल्लामा एक दर्जन समितिका यातायातका साधन सञ्चालनमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस