काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिमले चौथो जित निकालेको हो।

सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमै समेटियो।

जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१ रन बनाए। जिमी निसमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरका ओपनर अनिल शाह २, ह्यारी टेक्टर १, रायन बर्ल ८, विशाल सुस्लिङ २, कप्तान हरमित सिंह ४, अभिषेक तिवारी २ र ललित राजवंशी शून्य रनमा आउट भए।

जिमी निसम र ललित राजवंशीबीच नवौँ विकेटका लागि भएको २० रनको साझेदारी नै जनकपुरको इनिङ्सको सबैभन्दा ठूलो साझेदारी बन्यो।

सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले सर्वाधिक तीन विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट हात पारे।

यस जितसँगै ६ खेलमा चार जित निकालेको सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक रहेको शीर्ष स्थानको काठमाडौं गोर्खाजभन्दा सुदूरपश्चिम नेट रनरेटमा पछाडि छ। जितसँगै सुदूरपश्चिमको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ।

उता, पहिलो संस्करणको च्याम्पियन जनकपुरले ६ खेलमा चौथो हार बेहोरेको छ। चार अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरको प्लेअफ यात्रा कठिन बनेको छ।