मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।

बिहान करिब ६ः१० बजे भएको दुर्घटनामा गाडीमा चालकसहित १५ जना सवार रहेको प्रारम्भिक विवरण छ । तीमध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली परिचालन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेको छ ।

दुर्घटनाको कारण, मृतक तथा घाइतेको पहिचान र उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।