काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेका छन् । खड्काले आज सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने जानकारी गराएका हुन् ।

उनले लेखेका छन्- ‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानविपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयंसमेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबीसमेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु ।’ उनले महाधिवेशनविरुद्ध आफू अदालत गएकाले अहिले उम्मेदवार बन्नु राजनीतिक मूल्यमान्यता प्रतिकूल हुने पनि बताए।

आफू चुनाव नलड्ने निर्णयले आम मतदाताको भावनामा हुने प्रतिकूलता र लाग्ने चोटप्रति खड्काले क्षमा माग्दै भने- ‘अन्त्यमा पार्टीका जो साथी उम्मेदवारको रूपमा रूख चुनाव चिह्न लिएर तपाईंहरूको बीचमा आउनु हुन्छ पार्टीको सोही उम्मेदवारलाई पार्टी पंक्तिका सबै साथीहरू एकताबद्ध भई निर्वाचन अभियानमा लाग्न र अत्यधिक मतले विजयी गराउनु हुन हार्दिक अनुरोध र अपिल गर्दछु ।’ खड्काले २०७९ मा सुर्खेत–१ बाट चुनाव जितेका थिए ।