राप्रपाकी मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त
जनकपुरधाम - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालकी मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ ।
राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत २४ कार्तिकमा संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । पार्टीको निर्देशन विपरीत उनी मंसिर ८ गते वन तथा वातावरण मन्त्री बनिन् । राप्रपाले उनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो ।
तर उनी मन्त्री पद छोड्न नमानेपछि पार्टीले स्पष्टीकरण समेत सोधेको थियो ।
पार्टीको नीति नियमको अटेर गरेपछि प्रक्रिया पु¥याएर राप्रपाले उनलाई प्रदेश सांसद पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन मंसिर १५ गते प्रदेश सभामा पत्र पठाएको थियो ।
सोहि आधारमा प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेश सभा कार्यसञ्चालन सम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम उनलाई पदमुक्त गरेको मधेस प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस