काठमाडौं - नेपालले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडीसी), स्युचाटारका अनुसार भदौमा नेपालले ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो । प्राधिकरणका अनुसार उक्त विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ।

भदौमा नेपालले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको थियो। द्विपक्षीय सम्झौताअन्तर्गत भारतका हरियाणा र बिहार राज्य तथा बंगलादेशमा विद्युत् बिक्री गरिएको प्राधिकरणले जनाएको छ।

द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात हुँदा ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् निर्यात गरिएको छ। यसबाट १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणको तथ्यांक छ।

कुल निर्यातमा द्विपक्षीय सम्झौतामार्फत भएको विद्युत् बिक्रीको हिस्सा बढी रहेको छ भने एक्सचेन्ज मार्केटमार्फत पनि उल्लेख्य परिमाणमा विद्युत् निर्यात भएको छ।

यसैबीच, भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत् निर्यात हाल बन्द रहेको प्राधिकरणले जनाएको छ।