काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनबारे सहमति नजुटेपछि स्थगित भएको हो।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको र निर्णय लिनुपर्ने भएकाले सहमति नजुट्दा कात्तिक २७ गतेबाट बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

आगामी चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने वा विशेष महाधिवेशन कि नियमित भन्नेमा कांग्रेसभित्र विवाद छ ।

सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी भने वैशाखमा महाधिवेशन गर्ने गरी बहुमतबाट निर्णय लिनुपर्नेमा छन् । तर सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बहुमतबाट नभई सर्वसम्मत रूपमा निर्णय लिनुपर्ने भन्दै पटक पटक बैठक स्थगित गर्दै आएका छन् ।