आजबाट लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन
रुपन्देही - जेन्जी आन्दोलनपछि भदौ अन्तिममा सकिएको लुम्बिनी प्रदेशको वर्षे अधिवेशनपछि सबा दुई महिनामा हिउँदे अधिवेशन बस्न लागेको छ । यसअघि सरकारले बिजनेस दिन नसकेको भन्दै प्रदेश सभा सदस्यहरुले आलोचना गरेकाले अहिले केही तयारी गरे पनि हिउँदे अधिवेशनका लागि पर्याप्तता अझै भएको छैन ।
प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट शुरु हुँदैछ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् ।
बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नेछन् । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताए । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेश गर्नकालागि स्वीकृति दिएको छ ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस