काठमाडौं - नेपाल डिजिटल पेमेन्ट कम्पनीले अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ सार्वजनिक भएको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको पेमेन्ट कम्पनीले ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा सार्वजनिक गरेको हो । 

सरकारीस्तरबाट सञ्चालन हुन लागेको पेमेन्ट गेटवे ‘नमस्ते पे’को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ। ‘नमस्ते पे’बाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। 

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन गरिने उनको भनाइ छ। मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन्।

टेलिकमले सेवाग्राहीलाई उपलब्ध गराएको मोबाइल नम्बरमा रहेको ब्यालेन्सबाट सामान र सेवा खरिद गर्न सकिने जनाईएको थियो । 

डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमका ग्राहकले मोबाइल मनी सेवा सञ्चालनका लागि रिचार्ज कार्डबाट समेत रकम लोड गर्न सकिनेछ । 

हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि #५०० डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने सो सेवालाई क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ ।

गत वर्ष नै नेपाल राष्ट्रि बैंक र नेपाल टेलिकमबिच डिजिटल पेमेन्ट सञ्चालनका लागि सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गर्ने व्यवस्था गरेको थियो ।