काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति–सुरक्षासम्बन्धी विषयमा व्यापक कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ।

राजदूत श्रीवास्तवले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै भारत सदैव नेपालसँगको मित्रवत सम्बन्धलाई मजबुत बनाउन इच्छुक रहेको बताए।

उनले निर्वाचन सफल बनाउन आवश्यक पर्ने सहयोग र सहकार्यका लागि भारत सकारात्मक रहने आश्वासन पनि दिए।

भेटका क्रममा गृहमन्त्री अर्यालले देश संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै सरकारले शान्ति–सुरक्षा, सुशासन र भ्रष्टाचारमुक्त सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले तोकिएको मितिमै निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार अहोरात्र प्रयासरत रहेको जानकारी गराए।

मन्त्री अर्यालले नेपालप्रति भारतको मित्रवत भावनाप्रति धन्यवाद व्यक्त गर्दै दुवै देशबीचको सम्बन्ध ऐतिहासिक, घनिष्ट र स्थायी रहेको बताए।

साथै, खुला सीमाको कारण निर्वाचन अवधिमा सीमा व्यवस्थापनमा भारतको सहयोग महत्वपूर्ण रहने उनको भनाइ थियो।