काठमाडौं - रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपाली महानुभावहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एन आई सी एशिया बैंक र  अल अन्सारी एक्सचेन्जबीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ । समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ । 

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब अल अन्सारी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त अल अन्सारी एक्सचेन्जकम्पनीबाट पठाइएको रकम यस बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ । साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एपभित्र रहेको रेमिटेन्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफुलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।