काठमाडौं - पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरर्फलाई मृत्युदण्ड दिने विशेष अदालतले सुनाएको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ । उच्च अदालतले मुसर्रफबारे विशेष अदालतको फैसलालाई गैरकानुनी भन्दै सोमबार उल्ट्याइदिएको हो ।

डिसेम्बर १७,२०१९ मा देशद्रोहको मुद्दामा मुसर्रफलाई पाकिस्तानको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसको विरोधमा उनी उच्च अदालत गएका थिए।

विशेष अदालतले मुसर्रफलाई सजाय सुनाउने क्रममा कानुनी प्रक्रिया पूरा नगरेको उच्च अदालतको फैसलामा उल्लेख रहेको बीबीसीले लेखेको छ।

संविधानको १८औँ संशोधनअनुसार संविधानको दफा ६ मा जुन संशोधन भएको छ त्यसअनुसार मुसर्रफबारे विशेष अदालतको फैसला दिन नमिल्ने फैसलामा छ।

अभियुक्तको अनुपस्थितिमा बहस र फैसला गर्नु इस्लाम धर्म विपरित र गैरकानुनी एवं गैर संवैधानिक भएको उच्च अदालतले बताएको छ।

न्यायाधीश मुजाहिर अली नकवीले नेतृत्व गरेको तीन सदस्यीय बेन्चमा न्यायाधीश अमीर भट्टी र न्यायाधीश मसूद जहाँगीर सामेल थिए। मुसर्रफबारेको फैसलाको पूर्ण पाठ पछि जारी गरिने पनि उच्च अदालतले बताएको छ।