काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताएका छन् ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन् ।कृषिको उत्पादन बढाउन चक्लाबन्दी आवश्यक रहेको गौतमको भनाइ थियो । उनले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर गर्नुपर्ने समेत बताए । उनले चक्लाबन्दी नगरे कृषिमा अन्य मूलुकसँग प्रतिस्प्रधा गर्न नसकिने समेत बताए ।

त्यस्तै नेता गौतमले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने समेत बताए । नेता गौतमले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडि बढ्नुपर्ने बताए । त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको उनको भनाइ छ ।

जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा ऊर्जा प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवश्यक व्यवस्था गरिरहेको गौतमले बताए । त्यस्तै उनले जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुल्कहरुसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिँदै गर्दा औद्योगिकरणमा जाँदैनौं भन्न नहुने समेत उनको भनाइ छ ।