काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज १९ देखि २३ गतेसम्म बेलायत भ्रमणमा गएका हुन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणका क्रममा हुने भेटवार्ता तथा अन्य कार्यक्रमको विस्तृत कार्यतालिका भने सार्वजनिक गरिएको छैन।
प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।
नेपाली सेनाले प्रधानसेनापतिको बेलायत भ्रमणले नेपाल र बेलायतबीच सदियौँदेखि रहँदै आएको आपसी सैनिक सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपाली सेना र बेलायती सेनाबीच लामो समयदेखि सैनिक सम्बन्ध तथा सहकार्य रहँदै आएको छ।
प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।

.gif)


