काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सभापति थापाले रास्वपालाई चुनावमा मत मात्रै नभई प्रशिक्षित नेतासमेत कांग्रेसले दिएको बताएका थिए ।
थापाको उक्त भनाइप्रति प्रतिक्रिया दिँदै कांग्रेस छाडेर रास्वपामा पुगेका सिंहले आफूहरू त्यतिकै पार्टीबाट बाहिरिएको नभएको बताएका हुन्।
सिंहले पुराना दलबाट नेताहरू बाहिरिनुको कारण नेतृत्वले पार्टीको जिम्मेवारी गलत व्यक्तिहरूलाई सुम्पिनु रहेको आरोप लगाए।
‘नयाँ पार्टीका सभापति ज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्,’ सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।’
सिंहले लोकतन्त्र ल्याएको पार्टी भनेर गर्व गर्ने कांग्रेस नेतृत्वले पार्टीलाई वर्तमान अवस्थामा पुर्याउने जिम्मेवारीसमेत लिनुपर्ने बताएका छन्।
‘नाक फुलाएर लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो– त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो ?’ उनले प्रश्न गरेका छन्।
इतिहासको गौरव मात्र गाएर नहुने भन्दै सिंहले वर्तमान अवस्थाको जिम्मेवारी पनि स्वीकार गर्नुपर्ने बताएका छन्। लोकतन्त्र ल्याएको पार्टीको नाममा राजनीति गर्ने तर त्यही पार्टीको आधार आफैं कमजोर बनाउने अवस्था विडम्बनापूर्ण रहेको उनको टिप्पणी छ।
‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ,’ सिंहले भनेका छन्, ‘लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने– योभन्दा ठूलो विडम्बना अरू के होला ?’

.gif)


